रूरू जलविद्युत परियोजनाले सर्वसाधारणमा आईपीओ विक्री गर्दै

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रूरू जलविद्युत परियोजनाले चैत २० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको हो ।

सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्नेछ भने कुल कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको बताईएको छ ।

स्थानियमा न्यूनतम अंकित मूल्य रू १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आईपीओ जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य रू १०० मा रू २० प्रिमियम थप गरी प्रतिकित्ता रू १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ ।

माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाई छ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी रू ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू ४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । स्थानिय सहित सर्वसाधारणमा रू ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको हो ।

यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले रू ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ । जुन गत आवको तुलनामा रू ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म रू ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ रू ११८ दशमलव ८४ रहेको छ ।

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्