ढोरपाटनमा सिकारका लागि आठ सिकारीले पाए अनुमति

काठमाडौं । चैत्र ११, नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा सिकारका लागि आठ सिकारीले अनुमति पाएका छन् । जसमध्ये सबैभन्दा धेरै स्पेनका तीन जना सिकारी छन् । त्यसबाहेक फ्रान्सका दुई जना, रसिया, अमेरिका र युक्रेनका एकरएक जना सिकारीले पनि अनुमति पाएका छन् । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार चालु आर्थिक वर्षको दोस्रो सिजनमा ८ नाउर र ४ वटा झारलको सिकार गर्न पाइनेछ ।
नेपालस्थित सिकार कम्पनीअन्तर्गत सबैभन्दा धेरै नेपाल ट्राभस एक्सपिडिसन प्रालिले ४ नाउर र २ झारलको सिकार अनुमति पाएको छ । त्यस्तै, ग्लोबल सफारिज नेपाल प्रालिले ३ नाउर र १ झारल, हिमालयन सफारिजले १ झारल र १ नाउरको सिकार गर्न अनुमति पाएको छ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर स्वीकृत भएका सिकारीले मात्रै ढोरपाटनमा सिकार खेल्न पाउने प्रावधान छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस पटक १० नाउर र ६ वटा झारलका लागि बोलपत्र खुलाएको थियो ।
आरक्षलाई ७ वटा ब्लकमा बाँडिएको छ । हरेक वर्ष फरक–फरक ब्लकमा सिकार अनुमति दिने गरिएको छ । तर दरबन्दी अभावले ब्लकको सुरक्षा र प्रशासनमा सास्ती भइरहेको कँडेलले बताए । बाहिरी सुरक्षाका लागि भने नेपाली सेनाको गुल्म स्थापना भएको छ । ‘अझै तीन–चार स्थानमा सेनाको पोस्ट पुग्न सकेको छैन,’ कँडेलले भने, ‘चोरी सिकार शून्य बनाउन सुरक्षा पोस्ट माग गरेका छौं ।’