मेलम्चीको पानी आजदेखि काठमाडौँमा वितरण गरिँदै

सहयात्रा टिभी

काठमाडौँ । चैत १५, बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँ उपत्यकावासीको धारामा वितरण हुँदैछ ।

मेलम्ची आयोजनाले आज पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी उपत्यकाबासीको घरका धारामा वितरण गर्दैछ । आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ निर्देशनालयले जनाएको छ।

मेलम्चीको पानी पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)कै वितरण प्रणालीमार्फत उपभोक्ताको धारामा पुग्ने व्यवस्था गरिएको छ ।

१७ करोड लिटर क्षमताको यो आयोजना पूर्णरूपमा सञ्चालनमा आउन भने कम्तीमा २० दिन लाग्नेछ ।

परीक्षणअवधिमा उपत्यकामा रहेका रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै पानी वितरणको तयारी भएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिनुभयो ।

मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्गमार्फत गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको थियो । आर्थिक वर्ष २०५५/५६ देखि मेलम्ची परियोजना शुरू भएको थियो ।

प्रकाशित : 28 March, 2021

प्रतिक्रिया दिनुहोस्