घरेलु मैदानमा ३७ वर्षपछि नेपाललाई उपाधि (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौँ । त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरे । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त गर्‍यो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार साँझ सम्पन्न फाइनल खेलमा नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेश विरुद्ध आक्रामक खेलेको थियो । खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरे । उनी आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा नै गोल गर्न सफल भए । यस्तै खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरे ।

नेपालले मध्यान्तरअघिको खेलजस्तो आक्रामक खेल मध्यान्तरपछि खेल्न सकेन । फलस्वरुप बङ्गलादेशले खेलको ८३औँ मिनेटमा एक गोल गर्न सफल भयो । बङ्गलादेशका लागि रहमानले हेडमार्फत सान्त्वना गोल गरे । नेपालले खेलको अन्तिमतिर गोल गर्ने प्रयास गरेको थियो । तर, तेस्रो गोल गर्न भने नेपाल असफल रह्यो । अन्ततः नेपाल बङ्गलादेशविरुद्धको खेलमा २–१ गेलअन्तरले विजयी भयो ।

पूर्वकप्तान विराज महर्जनको बिदाइ

नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । उनले सोमबारको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गरेका थिए ।

पूर्वकप्तान महर्जनको दशरथ रङ्गशालामा सोमबार भव्य रुपमा बिदाइ गरिएको छ । बङ्गलादेश विरुद्धको खेलमा उनी खेलको ८९औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनी नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी हुन् । महर्जनले ७३ खेल खेलेका छन् ।

खेलको अवलोकन गर्न प्रधानमन्त्री ओली रङ्गशालामा

नेपाल र बङ्गलादेश बीचको फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला जानुभएको थियो ।

उहाँ खेल शुरु हुनु अगावै रङ्गशाला प्रवेश गर्नुभएको थियो । उहाँका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललगायत रङ्गशाला पुग्नुभएको थियो ।

नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो । उहाँले खेल अवधिभर रङ्गशालमा रहेर खेलाडीको हौसला बढाउनुका साथै विजेता तथा उपविजेता खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारीलगायतलाई ट्रफी प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

प्रतियोगितामा नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गराएको थियो ।

–रासस

प्रकाशित : 30 March, 2021

प्रतिक्रिया दिनुहोस्