मुस्ताङ सडक थप दुई दिन बन्द

काठमाडौं । चैत्र १७, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ ।
विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो भने यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको थियो ।
सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताए । प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ । काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।
करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निमार्ण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ ।