दिल्ली–काठमाडौं हवाई भाडा एकाएक आकासियो

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक आकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली–काठमाडौं एकतर्फी यात्राकै लागि भारु ३० हजार सम्म ४८ हजार रुपैयाँ तिर्न बाध्य भएका छन् । जब कि सामान्य अवस्थामा भारु करिब ६ हजार साढे ९ हजार रुपैयाँमा पनि टिकट पाइने गरेको थियो ।

हाल भारत र नेपालबीच ‘एअर –बबल’ सम्झौता अन्तर्गत नेपाल वायुसेवा निगम र एयर इन्डियाले मात्र दिल्ली–काठमाडौा दैनिक एक–एक उडान गरिरहेका छन् भने कोरोना महामारीअघि यो रुटमा मात्र दैनिक ११ उडान हुनेगरेका थिए । नेपाल वायुसेवा निगमका दुई, एयर इन्डियाका दुई, इन्डिगोका तीन, स्पाइस जेटका दुई र भिस्ताराकोएक उडान हुनेगरेका थिए । हाल नेपाल वायुसेवा निगमले एयर बस ३२० बाट दैनिक एक उडान गर्दै आएको छ ।

पर्याप्त सिट नहुँदा विगत दुई सातादेखि यो उडानका आठ बिजनेस क्लास र १५८ इकोनोमिक क्लास सिटको अकुपेन्सी औसतमा ९० प्रतिशतभन्दा बढी रहँदै आएको छ । त्यस्तै अवस्था एयर इन्डियाको पनि छ । निगमले बिजनेस क्लासका लागि न्यूनतम २१ हजार ५ सय र अधिकतम सीमा २२ हजार ५ सय भारु तय गरेको छ ।

त्यसैगरी इकोनोमी क्लासका लागि न्यूनतम न्यूनतम ५ हजार ९ सय र अधिकतम १९ हजार भारु निर्धारण गरिएको छ । तर उच्च मागका कारण यात्रुहरूले माथिको दरमा टिकट पाउन मुस्किल छ । एयर इन्डियाले हवाई भाडा बजार मै खुला छाडेको छ । जसले गर्दा टिकटको माग अत्यधिक हुँदा एअर इन्डियाको हवाई भाडा ३० हजार भारु नाघ्ने गरेको छ ।

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्