बैतडीको सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरू गरिएको छ । गाउँपालिका–१ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

आगामी चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ । उनले भने, “उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन शुरु गरिएको छ ।”

उक्त फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उनले बताए ।

सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम शुरु भइसकेको हो । उनले भने,“चीनका विज्ञ टोली आएर खानी उत्खनन शुरु भएको छ ।”

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले बताए ।

फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ । उनले भने,“खानी भट्टिएसँगै यहाँका स्थानीयवासीले रोजगारी पाउने सम्भावना पनि छ ।”

खानी भेट्टिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्‍याउनेलगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने बताईएको छ ।

 

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्