न्युजिल्यान्डको अकल्यान्ड शहरमा नेपाल महोत्सव सम्पन्न
काठमाडौं । चैत्र १८, न्युजिल्यान्डको अकल्यान्ड शहरमा नेपाली भाषा, कला, संस्कृतिलाई प्रर्वधन गर्ने उद्देस्यका साथ दोस्रो ‘नेपाल महोत्सव’ को आयोजना गरिएको छ।
न्युजिल्यान्डका विभिन्न शहरबाट नेपाली र स्थानीय किविज सहभागिता भएको नेपाल महोत्सवमा नेपाली खानाका परिकार, नेपाली गीत संगीत, नृत्य, झाँकी तथा नेपाल झल्काउने विविध कार्यक्रमहरु समावेश गरिएको थियो भने एओटा स्कायरमा सम्पन्न दोस्रो नेपाल महोत्सवले न्युजिल्यान्डमा नेपालीको बलियो उपस्थिति झल्काएको थियो।
नेपाली झाँकी र परेड गरी सुरूवात गरिएको कार्यक्रममा न्युजिल्यान्ड सरकारका मन्त्रीहरू माइकल वुड, प्रियांका राधाकृष्णन, सांसद मेलीसा ली, स्व. एडमण्ड हिलारीकी पत्नी जुन हिलारी, न्यूजीलैंडका लागी नेपाली अबैतनिक बाणिज्यदूत आत्माराम खनाल लगायत विभिन्न प्रवासी समुदायका प्रतिनिधि, नेपाली समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो।
‘२०२० सालमा निर्धारित समयमा कोभिड–१९ का कारणले सम्पन्न गर्न सकिएको थिएन, यसको त्रास अझै रहे पनि कार्यक्रम भने सोचेभन्दा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपाली कला संस्कृतिको प्चार प्रशार गर्न कार्यक्रम सफल रह्यो भन्ने हाम्रो ठहर छ’, आयोजक न्युजिल्यान्ड नेपाल समाजका अध्यक्ष सन्तोष भण्डारीले जनाए।
न्युजिल्यान्डका लागि मानार्थ पर्यटनदूत रमिल अधिकारीले नेपाल र न्युजिल्यान्डबीचको आत्मीयताको साइनो जोड्ने महत्वपूर्ण पाटो पर्यटन हुन सक्ने बताएका छन्। ‘नेपाली भाषा र संस्कृतिलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नु नेपाली डायस्पोराको प्रमुख जिम्मेवारी हो, यस कार्यक्रमले थप ऊर्जा बढाएको छ’, कार्यक्रममा सहभागी नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष सञ्जय शान्ति सुबेदीले बताए ।