सामुदायिक वनमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेन, मानव वस्ति उच्च जोखिममा

डोटी । चैत्र १९, नेपालभरका प्रायजसो जंगलमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक हप्तादेखि सामुदायिक वनमा लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन नसक्दा प्राय गाउँ उच्च जोखिममा परेका छन् ।
दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित सामुदायिक वनमा बुधबार फैलिएको डढेलो यहांका स्थानीयवासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकलको सक्रियतामा अझै निभाउन नसकिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले बताए ।
पानी नपर्दा सुक्खा यामले जंगलमा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीले आरोप लगाएका छन् ।
जिल्लामा ३ सय ५० भन्दा बढी सामुदायिक वन रहेको छ । हाल आगलागि भएको सामुदायिक वन प्रायः गाउँ घरसँगै जोडिएकाले सो फैलिएको आगो गाउँमा समेत सल्कन सक्ने भन्दै स्थानीयवासी त्रसित भएका छन् ।