राष्ट्रपतिले आज मेलम्चीको पानी वितरणको उद्घाटन गर्दै

काठमाडौँ । चैत २०, गत आइतबार काठमाडौँमा भित्रिएको मेलम्ची खानेपानीको पानी वितरण कार्यको आज औपचारिक उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धाराको टुटी खोलेर मेलम्चीको पानी वितरण कार्यको उद्घाटन गर्ने छिन् ।
भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिबाट उद्घाटनको कार्यक्रम राखिएको हो । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ ।
राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताए ।
सर्वसाधारणलाई साक्षी राखेर मेलम्ची उद्घाटन गर्न लागिएको उनले बताए । यसअघि आयोजनाले २३ गते उद्घाटन गर्ने तयारी गरेको थियो । तर पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम अगाडि सारिएको हो ।
काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।