शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा गणना शुरु

सहयात्रा टिभी

कञ्चनपुर । चैत्र २०, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुको सूचीमा पर्ने एक सिङ्गे गैँडा गणना कार्य शुरु गरीएको छ । उक्त कार्यका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको बताईएको छ ।

निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी ३ वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताउनुभयो । “गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी शुरु गरेका छौँ”, उनले भने, “गणनाको कार्यसँगै गैँडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।”

प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैँडा गणनाको कार्य हुँदै आएको छ भने निकुञ्जमा १७ वटा गैँडा संरक्षित रहेका छन् जसमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् । गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो ।

 

प्रकाशित : 2 April, 2021

प्रतिक्रिया दिनुहोस्