सिम्रिक एयरले आफ्नै खर्चमा निभायो शिवपुरी नागार्जुनको जंगलमा लागेको आगो

काठमाडौं । चैत्र ३०, काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान पौने ९ बजे बुढानिलकण्ठ नगरपालिका–१ स्थित तैलुङबाट सुरू भएको आगलागी साँझसम्ममा मात्र नियन्त्रणमा आएको हो।
आगलागी पछि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निकुञ्जका कर्मचारी गरी करिब दुई सय जना आगो नियन्त्रणमा खटिएका थिए। बुढानिलकण्ठ नगरपालिका र नेपाली सेनाकै दमकलबाट आगलागी नियन्त्रणमा लिने प्रयास गरेतापनि नियन्त्रणमा नआएपछि हेलिकप्टरको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो।
जंगलमा लागेको आगो नियन्त्रण गर्न सिम्रिक एयरको दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो। करिब दुई घण्टासम्म हेलिकप्टरले पानी खसालेपछि आगलागी नियन्त्रणमा आएको सिम्रिक एयरका फिल्ड इन्चार्ज रविन्द्र अधिकारीले बताए। यसरी आगलागी नियन्त्रणमा लिन सिम्रिक एयर नेपालमा पहिलो हेलिकप्टर दाबी भएको छ।
यसरी आगलागी नियन्त्रण गर्दा कम्तीमा सात लाख भाडा खर्च लाग्ने भए पनि सिम्रिक एयरले त्यो खर्च आफैंले व्यहोरेको अधिकारीले जानकारी दिए। ‘आज हाम्रो आगो निभाउने अपरेशनका लागि हेलिकप्टर लगभग दुई घण्टा उडेको छ। त्यसको कम्तिमा पनि सात लाख खर्च हुन्छ, तर हामीले सामाजिक उत्तरदायित्यको हिसाबले आफ्नै खर्चमा आगो निभाएका हौ।’