चौथो संस्करणको कतारी मुद्रा चलन चल्तीबाट हटाईदैँ

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, कतारको केन्द्रीय बैंकले १ जुलाई २०२१ (१७ असार २०७८) देखि ती चौथो संस्करणको कतारी मुद्रा चलन चल्तीबाट हटाउन लागेको हुनाले नेपालमा पनि नचल्ने भएका छन् ।

राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर यही वैशाख २७ भित्र आफूसँग भएका कतारी मुद्रा (रियाल) सटही गर्न निर्देशन दिएको हो ।

हाल राष्ट्र बैंकको बैंकिङ कार्यालयमा र विदेशी बैंकमा गरी करिब २ करोड ६७ लाख कतारी रियाल छ । मंगलबारको विनिमय दरअनुसार यो करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबर हो । यो तथ्यांकमा मनी चेन्जर कम्पनी, राष्ट्र बैंकका प्रादेशिक कार्यालय, रेमिट्यान्स कम्पनी, बैंक तथा वित्तीय संस्था, होटल, एयरलाइन्स कम्पनी र सर्वसाधारणसँग रहेको रियाल समावेश छैन ।

नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख राष्ट्र पनि कतार हो । यसकारण कतारमा कार्यरत करिब ६ लाख नेपालीसँग औसतमा ५ लाखका दरले कतारी रियाल रहेको राष्ट्र बैंकको अनुमान रहेको छ । सन् २०२२ मा कतारमा हुन लागेको विश्व कपका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि पछिल्ला वर्षमा धेरै नेपाली त्यहाँ गएका छन् ।

हाल कतारमा चौथो संस्करणको मुद्रा सञ्चालनमा छ । त्यहाँको सरकार (केन्द्रीय बैंकले) पाँचौं संस्करणको मुद्रा चलनचल्तीमा ल्याइसकेको छ । सोहीकारण १ जुलाई २०२१ देखि चौथो संस्करणका मुद्रा चलनचल्तीबाट हटाउन लागिएको हो ।

प्रकाशित : 21 April, 2021

प्रतिक्रिया दिनुहोस्