लकडाउन हुने भएपछि नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

काठमाडौं । बैशाख १४, गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड अत्याधिक मात्रामा बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको छ ।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बसपार्कमा एक हजार ५०० भन्दा बढी सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।