आज पनि बिहानैदेखि उपत्यका छाड्नेको लर्को

काठमाडौँ । वैशाख १५, सरकारले दुई साता लामो निषेधाज्ञा घोषणा गरेसँगै आज पनि बिहानैबाट काठमाडौँ उपत्यका छाड्नेको लर्को लागेको छ ।
कोरोना संक्रमण फेरि तीव्र रुपमा फैलन शुरू गरेसँगै सरकारले १६ वैशाखदेखि लागू हुने गरी दुई साताका लागि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ ।
निषेधाज्ञाका कारण कामविहीन बस्नु पर्ने र दैनिक गुजारा चलाउन समस्या हुने भन्दै मंगलबारदेखि उपत्यका छाड्नेको भीड ह्वात्तै बढेको हो ।
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । यस्तै, कोटेश्वर, बल्खु र कलंकीलगायतका क्षेत्रमा बिहानैदेखि उपत्यका छाड्नेहरूको भीड लागेको छ ।
अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै मंगलबार बिहानैदेखि यात्रुहरुको भीड लागेको हो ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।
नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।