आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

काठमाडौँ । वैशाख २०, सरकारले आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय उडान बुधबार (२२ वैशाख) को मध्यरातदेखि बन्द हुनेछन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान र वैशाख २२ गते मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले संक्रमणको उच्च जोखिम बढ्दै गएपछि आन्तरिक र बाह्य दुवै उडानमा रोक लगाउने निर्णय गरेको हो । सरकारले यसअघि गत वर्ष पनि कोभिडको संक्रमण बढेसँगै अघिल्लो वर्षको चैतदेखि हवाई उडान बन्द गरेको थियो ।
कोभिड–१९को दोस्रो लहर पछिल्लो समय बढ्दै गएपछि गत बिहीबारदेखि उपत्यकासहित केही जिल्लामा निशेषाज्ञा गरेको सरकारले हवाई उडान र अत्यावश्यक सेव र हिँड्डुलमा भने प्रतिबन्ध लगाएको थिएन । सार्वजनिक यातायात बन्द गर्ने तर आन्तरिक तथा बाह्य उडान बन्द नगरेको भन्दै सरकारको चर्को आलोचना यातायात व्यवसायीले गर्दै आएका थिए ।