कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक कालोपत्र शुरु

काठमाडौं । बैशाख २२, कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालो पत्रको काम शुरु भएको छ ।
त्यस्तै, मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडक खण्डमध्ये खन्तीबाट मङ्गलबारदेखि कालोपत्र गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर सचिन शर्माले बताए ।
इन्जिनीयर शर्माका अनुसार साढे १५ किलोमिटर कालोपत्र र एक हजार ३०० मिटर ढलानको जिम्मा लिएको निर्माण कम्पनिले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ । आगामी असार मसान्तसम्म ठेक्काको काम सक्ने लक्ष्यका साथ कालोपत्रको काम शुरु गरिएको उनले जनाए ।
त्यस्तै, वि सं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा २०७४ सालदेखि चार प्याकेजमा स्तरोन्नतिको काम भइरहेको छ भने पहिलो प्याकेजमा पर्ने गलेश्वर–बेगखोलासम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रको तयारी भइरहेको सहायक ठेकेदार कम्पनि ओमकारेश्वर कन्सट्रक्शनका प्रमुख अमृत दाहालले बताए ।