उपत्यकामा आजदेखि थप कडाइ

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गरेको छ ।

बिहान बेलुका नै पसल खुला गरीने भनेकोमा आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो ।

कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्दै आज बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको बताईएको छ ।

फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार – व्यवसाय एवं कवाडी सङ्कलनमा रोक लगाइएको छ । आदेशमा उपत्यकाबाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्यरूपमा १० दिनको क्वारेन्टिनमा राख्‍ने प्रतिबद्धतासहितको सिफारिस चाहिने भएको छ ।

त्यसैगरी, सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकूद सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा ९बढीमा दुई जना० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेकका अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्र खुला गर्ने र केन्द्रीय कार्यालयले २० प्रतिशतमात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने छ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनका हकमा सहजीकरण गरिने छ । माथि उल्लिखितबाहेकका अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा अनिवार्यरूपमा उपस्थिति हुनुपर्नेको हक) मा सवारी साधान प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति पास लिनुपर्ने जनाइएको छ ।

पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गरिने जनाइएको छ । सूचना विभागको प्रेस पास नभएको अवस्थामा सञ्चार गृहले न्यूनतम कर्मचारी मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

मृत्यु संसकारका लागि जान आउन मृत्यु दर्ताको प्रमाणपत्र वा सम्वन्धित वडाको सिफारिस र परिचयपत्र खुल्ने कागजात पेश गरी पास लिनुपर्ने छ । बिरामी र कुरुवाका हकमा काठमाडौँ उपत्यकाभित्र भए भर्ना कार्ड वा रिपोर्ट कार्ड देखाएर जान सकिने तर काठमाडौँबाहिर जानुपर्ने भएमा ती कार्डसहित परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । एजेन्सीहरुको साथमा ।

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्