ढोरपाटनमा दोस्रो सिजनको शिकार सकियो, २५ लाख राजश्व संकलन

बागलुङ । बैशाख २३, बागलुङ । ढोरपाटनमा यस वर्षको दोस्रो शिकार सिजन सकिएको छ भने नौ नाउर र चार वटा झारलको सिकार भएका छन् ।
त्यस्तै, विदेशी व्यावसायिक शिकारी ढोरपाटन पुगेर निर्धारित कोटा अनुसारको नाउरको शिकार गरेका हुन् । दोस्रो यामको सिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व संकलन भएको आरक्ष कार्यालय ढोरपाटनले बताएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो ।
हरेक वर्ष पहिलो सिकार याम असोज–कात्तिक र दास्रो सिकार याम चैत–वैशाखमा हुने गर्छ । पहिलो याममा एक झारल र एक नाउरको शिकार भएकोमा दोस्रो याममा भने लक्ष्य अनुरुप नै शिकार भएको प्रमुख संरक्षण अधिकृत बिरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।
आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो । शिकारीहरू नेपाल ट्राभल एक्सपिडिसन, हिमालयन वाईल्डलाइफ आउटफिर्टस, ग्लोबल सफारिज र हिमालयन सफारिज मार्फत ढोरपाटन पुगेका थिए । बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताउनुभयो ।