अमेरिकाको ठूलो इन्धन पाइपलाइनमा साइबर आक्रमण : आपत्काल घोषणा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २७, अमेरिकाको सबैभन्दा ठूलो कोलोनियन इन्धन पाइपलाइनको आपूर्ति प्रणालीमा साइबर आक्रमण भएपछि आपत्काल घोषणा गरिएको छ ।
उक्त पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुन्छ तर शुक्रबार साइबर आक्रमणकारीको एउटा समूहले आक्रमण गरेपछि सो पाइपलाइनको मर्मत सम्भार भइरहेको बताईएको छ । बीबीसीका अनुसार यसैका कारण सोमबार इन्धनको मूल्य २–३ प्रतिशत बढ्न सक्नेछ ।
पाइपलाइनमा र्यान्समवेयर डार्कसाइड नामक एक साइबर अपराधीहरुको गिरोहले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । उक्त समूहले बिहीबार कोलोनियल नेटवर्कमा आक्रमण गरी करिब १०० जिबी डेटा आफ्नो कब्जामा लिएको थियो भने ह्याकरहरुले केही कम्प्युटर तथा सर्भरमा डेटालाई लक गरेका थिए । उनीहरुले शुक्रबार अमेरिकी सरकारसँग फिरौती रकमसमेत मागेका थिए । पैसा नदिए आफूहरुको कब्जामा रहेको डेटा लिक गर्ने धम्की पनि उनीहरुले दिएका थिए ।
लन्डनस्थित एक साइबर सुरक्षा कम्पनी डिजिटल स्याडोजले कोलोनियन पाइपलाइनमा आक्रमणको ठूलो कारण कोरोना महामारी हुन सक्ने बताएको छ । कोरोना महामारीका कारण कम्पनीका अधिकांश इन्जिनियरले घरको कम्प्युटरबाट काम गरेकाले पनि साइबर आक्रमण गर्न सहज भएको हुनसक्ने कम्पनीको आकलन छ ।