चितवनमा कोरोनाबाट ६ जनाको मृत्यु

सहयात्रा टिभी

चितवन । बैशाख २७, चितवनका दुई अस्पतालमा आइतबार राती छ कोरोना सङ्क्रमितको मृत्यु भएका्े छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो ।

 

त्यस्तै भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ का ३९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनियाको समस्या भई अस्पताल आएका उनमा यही वैशाख २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

नवलपरासीको कावासोतीका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–५ का ६१ वर्षीय पुरुष रहेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः३० बजे मृत्यु भएको हो ।

कपिलवस्तुको तौलिहवा नगरपालिका–१ बस्ने ६० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः४० बजे मृत्यु भएको अस्पतालले बताएको छ ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०ः३५ बजे मृत्यु भएको हो । रुपन्देहीकै देवदह नगरपालिका–९ का ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजका अनुसार निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनामा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०ः३० बजे मृत्यु भएको बताईएको छ ।

 

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्