आमा

सहयात्रा टिभी

अनुभूत हुँदा मात्रै शिशु छ गर्भमा जब
मुसार्छिन् प्रेमले आमा, बाहिरी पेटमा तब
बिग्रियोस् रूप वा रङ्ग, बेपर्वाह खुसी हुँदै
पग्लिन्छिन् स्नेहमा आमा बच्चा धर्ती नआउँदै ।

आफूभित्र अझै राम्र‍ो हुर्कियोस् प्रतिबिम्ब यो
होसियारी हुँदै आमा गर्दछिन् ख्याल गर्भको
सजिलो हुन्न थाहा छ, कष्ट मोल्न तयार छिन्
आमा सन्तानका लागि सबैभन्दा अमूल्य छिन् ।

सन्तान सुखका लागि अर्पिन्छिन् प्राण प्रेमले
भुल्दछिन् वेदना जम्मै, शिशुका च्याँर्र च्याँर्रले
आफैँभित्र लुकाएर जिन्दगीका सबै पीडा
आफ्ना सन्तानका लागि मुस्काउँछिन् अघिल्तिर।

फुल्ने धर्म निभाएर फुल्दछन् फूलका बुटा
आमा सुगन्धले फुल्छिन् बच्चाका साथमा यता
तोते बोलीसँगै पढ्छिन् जिन्दगीको नयाँ पना
सँगै हाँस्छिन् सँग‌ै रुन्छिन् बिर्सिन्छिन् दुःखको क्षण।

बचेरा उँड्दछन् छोडी पखेँटा हाल्दछन् जब
आमा गुँड कुरी बस्छिन् आँखा ओच्छ्याउँदै तब
टाडा पुगे अझै साह्रो कस्छिन् यी प्रेमको मुठा
काटे पनि मुना पाल्छन् वनमा रुखका ठुटा ।

सम्पूर्ण आमाहरुमा मातातीर्थ औंसी आमाक‍ो मुख हेर्ने दिनको हार्दिक शुभकामना ।

  • इन्दिरा दाहाल

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्