वैज्ञानिक भन्छन् : पहिलो डोजमात्र खोप लगाएकाबाट भाइरस फैलिने जोखिम उच्च
काठमाडौं । बैशाख २९, भारतका डाक्टर तथा वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजमात्र लगाएकाहरुबाट अन्य व्यक्तिहरुमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताएका छन् ।
पहिलो डोजको खोप लगाएका वा पूर्ण खोप लगाएको पर्याप्त अवधि नपुगेका मानिसहरु भाइरसका सुशुप्त बाहकको रुपमा रहने र उनीहरुले खोप नलगाएका मानिसहरुमा भाइरस सार्ने जोखिम रहने डाक्टरहरुको भनाइ छ ।
खोप लगाएको केही दिनपछि नै कोभिडको लक्षण देखिने र परीक्षण गर्दा पोजेटिभ देखिने थुप्रै घटनाहरु पाइएका छन् । डाक्टरहरुका अनुसार यसरी लक्षण देखिएका संक्रमितहरु भन्दा लक्षण नै नदेखिने खोप लगाइसकेका संक्रमितहरु अन्य मानिसका लागि सबैभन्दा ठूलो जोखिमको रुपमा रहने गरेका छन् । खोप लगाएपछि भाइरस लाग्दैन र सर्दैन भन्ने मानसिकता हुने हुँदा उनीहरुले पर्याप्त सावधानी नअपनाउने र सोही कारणले उनीहरुबाट अन्य व्यक्तिमा भाइरस सर्ने सम्भावना अत्यधिक हुने गर्दछ ।
खोप लगाइसकेपछि पनि कोभिड संक्रमण देखिनुका विभिन्न कारण हुन सक्दछन् । इजरायलमा भएको एक अध्ययन अनुसार कोभिड १९ को खोप पूरा गरेका मानिसहरु सामान्य कोभिड भाइरसबाट सुरक्षित देखिएपनि नयाँ प्रकारको कोभिड भाइरसको संक्रमण देखिएको छ ।
त्यस्तै खोप लगाउनेबित्तिकै मास्क, सेनिटाइजर तथा सामाजिक दूरीको बेवास्ता गर्ने अनि खोप केन्द्रमा खोप लगाउँदाखेरि नै पनि मानिसहरुलाई भाइरसको संक्रमण हुने गरेको छ । व्यक्तिले खोप लगाउनेबित्तिकै वा लगाउनु भन्दा केही अगाडि हुने त्यस्तो खालको संक्रमण खोप लगाएको केही दिनपछि मात्र देखिन्छ ।
अस्पतालमा भर्ना भएका कोभिडका सिकिस्त बिरामीमध्ये अधिकांश खोप नलगाएकाहरु रहेका छन् । उनीहरुको संक्रमणको स्रोत अनेक हुनसक्छ । तर डाक्टरहरुका अनुसार उनीहरुमध्ये कतिपयमा खोप लगाइसकेका आफ्नै परिवारका सदस्यहरुबाट भाइरस सरेको छ । खोप लगाइसकेका तर संक्रमित बनेका त्यस्ता व्यक्तिहरुमा लक्षण नदेखिएको तर उनीहरुले धेरै मानिसहरुलाई भाइरस सारेको हुनसक्ने डाक्टरहरुको ठम्याइ छ ।
डाक्टरहरुका अनुसार दुबै डोज खोप लगाएको अवस्थामा पर्याप्त मात्रामा कोभिडविरुद्धको एन्टिबडी शरीरमा उत्पादन हुनका लागि कम्तीमा पहिलो डोज लगाएको ६ देखि ८ हप्ता सम्म लाग्दछ । त्यसैले यो अवधिमा खोप लगाएका व्यक्तिमा समेत संक्रमणको जोखिम हुन्छ र त्यसरी संक्रमण भएमा अधिकांश व्यक्तिमा लक्षण देखिँदैन । यस्तो अवस्थामा उनीहरुले आफूलाई संक्रमण भएको थाहा पाउँदैनन् र ढुक्कसँग आफू आसपासका अन्य मानिसहरुलाई भाइरस सारिरहेका हुन्छन् ।
विज्ञहरुका अनुसार खोप लगाउनेबित्तिकै आफूलाई सुरक्षित ठानेर सावधानी नअपनाउनु जोखिमयुक्त हुन्छ । वास्तवमा भ्याक्सिनले भाइरसको प्रसार रोक्ने होइन । यसले त व्यक्तिको भाइरस प्रतिरोधी क्षमता बढाउने हो र भाइरस संक्रमणको जोखिम तथा हानी घटाउने हो । त्यसैले खोप लगाइसकेका मानिसहरु तुलनात्मक रुपमा आफू सुरक्षित हुने भएपनि अरुका लागि चाहिँ जोखिमपूर्ण नै हुन्छन् ।
भाइरस विज्ञका अनुसार हामीकहाँ लगाइने खोपहरु prime boost regimen हुन् । अर्थात् पहिलो र दोस्रो डोजमा दिइने खोप एउटै हुन्छ । यस्तो अवस्थामा पहिलो र दोस्रो डोज निश्चित समयको अन्तरमा दिनै पर्छ । अन्यथा खोपले शरीरमा भाइरसविरुद्धको प्रतिरोधी एन्टीबडी उत्पादन गर्दैन ।
विज्ञका अनुसार पहिलो डोजको १४ दिनपछि शरीरमा एन्टीबडी उत्पादन उच्चतम विन्दुमा पुग्दछ । यदि यसबीचमा बुस्टरको रुपमा रहने दोस्रो डोज दिइएन भने एन्टीबडी प्रतिक्रिया घट्न थाल्दछ । दोस्रो डोजले वास्तवमा हामीलाई लामो समयको लागि उच्चतम एन्टीबडी रेस्पोन्स प्रदान गर्दछ अनि संक्रमणबाट जोगाउँदछ । यद्यपि हाल कोभिड खोपका दुई डोजबीच सामान्यतया २८ दिनको फरक पारिन्छ । त्यसैले यस बीचमा सम्बन्धित व्यक्ति आफ्नो लागि मात्र होइन अरुको लागि समेत निकै सचेत हुनुपर्छ ।
विज्ञका अनुसार पूरा डोज खोप नलगाएका वा खोपबीचको अवधि समेत उपयुक्त नभई पर्याप्त प्रतिरोधी एन्टीबडी नभएका व्यक्तिहरु म्युटेन्ट भाइरस सँग लड्न असमर्थ हुन्छन् र लक्षणविहीन भएपनि उनीहरुले अन्य व्यक्तिलाई भाइरस सार्ने जोखिम उच्च हुन्छ ।
त्यसैले पहिलो डोजमात्र लगाएका मानिसहरु आफ्नै व्यवहारका कारण आफू पनि संक्रमित हुने र अरुलाई पनि सार्ने जोखिम उच्च हुने ठम्याइ शोधकर्ताको छ । मानिसको आनीबानी सम्बन्धी अध्ययन गर्ने शोधकर्ताहरुका अनुसार अगाडि मास्क, सामाजिक दूरी तथा सेनिटाइजर जस्ता सावधानीका उपाय अपनाउने मानिसहरु समेत भ्याक्सिन लगाइसकेपछि जोखिमपूर्ण व्यवहारमा संलग्न हुने गरेको पाइएको छ ।
वैज्ञानिकहरुका अनुसार मानिसको यस्तो व्यवहारलाई प्लेजम्यान इफेक्ट भनिन्छ । उक्त सिद्धान्तका अनुसार जब मानिसमा सुरक्षाको अनुभूति धेरै हुन्छ तब उसमा जोखिम मोल्ने भोक पनि बढ्दै जान्छ । मानिसको त्यस्तो जोखिम मोल्ने भोकले अरुलाई चाहिँ हानी पुर्याउँछ ।
टाइम्स अफ इण्डियाबाट