एउटै बस्तीमा ४० सङ्क्रमित

महोत्तरी । बैशाख ३०, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
बस्तीका ४० जनामा पिसिआर परीक्षणबाट सङ्क्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मी रामबाबु यादवले बताए । बस्तीमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्ती केन्द्रित स्वाव सङ्कलन र परीक्षण थालिएको थियो ।
पछिल्लो एक/दुई दिनयता चाहिँ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तथा बर्दिबास नगरपालिका र बर्दिबास उद्योग वाणिज्य सङ्घले जारी गरेका सूचना प्रभावले सामूहिक हिँडडुल र जमघट घट्दै गएको र राष्ट्रव्यापी मानवीय क्षतिका घटना समाचारबाट आउँदा आम मानिस सचेत बन्दै गएको नगरप्रमुख विदुरकुमार कार्की बताउनुहुन्छ ।