नेपालको कोरोना भाइरसको असरका बारेमा अमेरिकाको सिनेटमा छलफल

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार छलफल भएको छ ।

कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए। उनले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरे।

कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताए। उनले नेपाललाई सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई बताए।

अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दे भने, “अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुने छ।”

त्यसैगरी अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाउनुभएको छ ।

विगतमा पनि अमेरिकाले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि स्वास्थ्य उपकरणहरु सहयोग गर्दै आएको छ । विगत एक बर्षको बीचमा युएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री समेत प्रदान गरिसकेको बताईएको छ । एजेन्सीहरुको साथमा ।

 

 

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्