निषेधाज्ञामा दैनिक उपभोग्य वस्तु महङ्गियो

सहयात्रा टिभी

ताप्लेजुङ । बैशाख ३१, ताप्लेजुङमा कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । फुङ्लिङ बजारमा अहिले चामल, दाल, खानेतेलजस्ता खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

निषेधाज्ञा अघिसम्म जुनेली चामल ३० केजीको पोका रु एक हजार ७७५ सम्ममा पाइने अहिले रु दुई हजार पर्न थालेको छ । रु दुई हजार ६२५ पर्ने ५० केजी तौलको किसान चामलको पोकालाई रु तीन हजार पर्न थालेको छ भने खानेतेल सूर्यमुखी आधा लिटरको पोकालाई रु १२५ पर्न थालेको छ भने तोरी तेलको पोकालाई रु १३५ पु¥याइएको छ ।

त्यसैगरी मुसुरी दाललाई प्रतिकेजी रु १४५ सम्म पर्न थालेको छ । यता स्थानीय व्यापारीले भने उपभोग्य वस्तुको मूल्य नै महङ्गिएको बताएका छन् । चामल र खानेतेलको मूल्य सबैभन्दा बढी वृद्धि गरिएको स्थानीय व्यवसायीको भनाइ छ । सामानको मूल्यसँगै निषेधाज्ञायता ढुवानी पनि वृद्धि गरिएको फुङ्लिङ बजारका व्यापारी दिनेश अधिकारीले बताए ।

केही उपभोग्य वस्तुको मूल्यवृद्धि नभए पनि ढुवानी शुल्क वृद्धि भएकाले सोही अनुपातमा अहिले स्थानीय व्यापारीले महङ्गो मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यता भएको अधिकारीको भनाइ रहेको छ ।

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्