बैतडीमा जेठ १७ गतेसम्म निषेधाज्ञा

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, बैतडीमा जेठ १७ गतेसम्म थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गरेका हुन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइने छैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । यसअघि बिहान १० बजेसम्म पसल खोल्न पाइने निर्णयमा थप कडाइ गरिएको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह, व्रतबन्ध, अन्तिम संस्कार जस्ता कार्य थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ । कसैले निषेधाज्ञाको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही हुने बताइएको छ ।

हालसम्म बैतडीमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९१५ रहेको छ भने कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ ।

 

 

प्रकाशित : 17 May, 2021

प्रतिक्रिया दिनुहोस्