भारतमा कोरोना संक्रमण दर घढ्दो, मृत्यु दरले बनायो रेकर्ड

सहयात्रा टिभी

काठमाडौँ । जेठ ४, कोरोना संक्रमणको दोस्रो लहरले नराम्ररी प्रभावित भएको भारतमा पछिल्लो समय संक्रमण दर घट्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६२ हजार ८९१ जनामा संक्रमण पुष्टि भएको छ ।

केही दिन यतादेखि एकैदिन तीन लाख भन्दा बढी संक्रमित थपिने गरेको भारतमा पछिल्लो तथ्यांकले संक्रमण दर घट्दै गएको देखाएको हो । यसअघि आइतबार भारतमा संक्रमण दर घटेर २ लाख ८२ हजारमा कोरोना पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा त्यसमा पनि कमी आएको देखिएको छ ।

यस्तै सोमबार भारतमा तीन रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ४ लाख २२ हजार २२७ जनाले कोरोनालाई जितेका छन् । एकैदिन कारोना संक्रमणमुक्त हुनेको यो अहिलेसम्मकै ठूलो संख्या हो । यस अघि गत ८ मेमा तीन लाख ८६ हजारले कोरोनालाई जितेका थिए ।

पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुनेको दर ३८ प्रतिशतले बढी रहेको छ ।

यस्तै, २४ घण्टामा सक्रिय संक्रमितको संख्यामा पनि एक लाख ६३ हजारले कमी आएको छ । यसअघि १६ मे मा उपचार गराइरहेका बिरामीको संख्या एक लाख ८३६ मा झरेको थियो ।

संक्रमण दर घट्दै गएको देखिए पनि मृत्यु दर भने अझ बढेको देखिएको छ । सोमबार भारतमा एकैदिन चार हजार ३३४ संक्रमितको मृत्यु भएको छ । यो एकैदिन ज्यान गुमाउनेको अहिलेसम्मकै ठूलो संख्या हो । यसअघि ७ मे मा ४ हजार २३३ जनाको मृत्यु भएको तथ्यांक छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित : 18 May, 2021

प्रतिक्रिया दिनुहोस्