भूकम्पले लमजुङमा १५ घरमा क्षति, चार जना घाइते

लमजुङ । वैशाख ५, आज बिहानै गएको भूकम्पमा परि लम्जुङमा ४ जना घाइते भएका छन् भने १५ वटा घर भत्किएका छन् ।
प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएका छन् । अरू दुई जना घाइतेको नाम खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म १५ घर भत्केको जानकारी प्राप्त भएको छ । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् ।
घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।
लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र भएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।