कोरोना सङ्क्रमितबाट मृत्युहुनेको निःशुल्क दाहसंस्कार

म्याग्दी । जेठ ५, कोरोना सङ्क्रमितको मृत्यु भएपछि म्याग्दीमा नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्ने भएको छ ।
वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् ।
मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रुपमा दाहसंस्कार गर्दै आएका छन् ।
“पिपिई लगायतका सामग्री रेडक्रसले व्यवस्थापन गरेको छ, हामीले पारिश्रमिक नलिइकन स्वयम्सेविका रुपमा सहयोग गरेका हौँ, जोडरले खाडल खन्नुपर्ने अवस्थामा त्यो खर्च स्थानीय तहले व्यवस्थापन गरिदिनुभएको छ”, केसीले भने। केसीलाई जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले शव व्यवस्थापन संयोजक तोकेको थियो ।