लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का

सहयात्रा टिभी

लमजुङ । जेठ ६, लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ ।

बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भयो ।

रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयवासीको भनाइ रहेको छ । यति कुराको मात्र डरले सीमित छैन जिल्लावासी । कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ ।

यही बीचमा भूकम्प जाँदा जिल्लाबासी घरबाहिर भीडभाड गरेर बस्न बाध्य भए । कोरोना संक्रमण परीक्षण नगरेकाहरुलाई संक्रमणको जोखिम भए सबैलाई सर्ने उच्च सम्भावनाले पनि मन आत्तिएको बेँसीशहर नगरपालिका–८ की सिर्जना श्रेष्ठको भनाइ छ ।

 

 

प्रकाशित : 20 May, 2021

प्रतिक्रिया दिनुहोस्