नेपाली खेलाडी ओलम्पिकको तयारीमा

सहयात्रा टिभी

काठमाडौं । जेठ ६, वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता लिने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन् ।

अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ ।

खेलाडीलाई अभ्यास दिइरहेका कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीका बीच पनि तयारी गरिरहेको बताए । वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेका हुन । टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिए पनि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योल छाएको छ । नेपाली खेलाडीमा पनि त्यसको असर देखियो अनि अभ्यास केही समय स्थगित पनि भयो । तर सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्ण रुपमा स्वास्थमापदण्ड पालना गदै अभ्यासको अनुमति सँगै नेपाली खेलाडी पनि अभ्यासमा व्यस्त भएका हुन् ।

टोकियो ओलम्पिक आयोजना हुने नहुने अझै अनिश्चित छ । विभिन्न स्तरमा प्रतियोगिता रोकिने चर्चा चलिरहेका छन् भने आयोजकले स्वास्थ मापदण्डलाई कठोर रुपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाइरहेको छ । ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडी मध्ये करातेका अनु अधिकारी र नविन रसाइलीले अभ्यास गरिरहँदा अन्यको अभ्यास भने चुस्त हुन सकेको छैन । १२ खेलाडी वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन् ।

स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको बताईएको छ ।

 

प्रकाशित : 20 May, 2021

प्रतिक्रिया दिनुहोस्