घरमै बसेर अनलाइनबाट नतिजा हेर्न सकिने

स्याङ्जा । जेठ ७, स्याङ्जाको फेदीखोला गाउँपालिकाले अनलाइन प्रणालीबाटै परीक्षाको नतिजा हेर्न मिल्ने गरी सफ्टवेयरको विकास गरको छ । गाउँपालिकाले प्रविधि तथा सफ्टवेयरको प्रयोग गर्दै विद्यार्थीले घरमै बसेर आफ्नो लब्धाङ्कपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको हो ।
गाउँपालिकाले सफ्टवयेर निर्माण गरी विद्यार्थीले सिम्बोल नम्बर र जन्ममितिबाट आफ्नो लब्धाङ्कपत्र हेर्न सक्ने व्यवस्था मिलाएको हो । नतिजा हेर्न विद्यालयमै पुग्नुपर्ने बाध्यता वा समस्यालाई सफ्टवेयरले समाधान गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
शैक्षिक सत्र २०७६/७७ मा कोभिडको सङ्क्रमणमा अनलाइन सफ्टवेयर विकास गरेर नतिजा प्रकाशन गरेको गाउँपालिकाले यस वर्ष सफ्टवेयरमा थप परिमार्जन गरको छ ।
परीक्षाको नतिजा गाउँपालिकाको आधिकारिक वेभसाइट लिङ्क क्लिक गरेर हेर्ने व्यवस्था गरेको हो । गत चैतमा लिएको कक्षा आठको परीक्षामा ११ वटा विद्यालयका दुई सय ३० विद्यार्थी सहभागी थिए ।
कोरोना महामारीको दोस्रो लहरको फैलावट बढ्दै जाँदा अनलाइनबाट नतिजा प्रकाशन गर्ने प्रणाली थप सान्दर्भिक बनेको सुवेदीले बताए । गोरखापत्रबाट