चितवनमा जेठ २० सम्म निषेधाज्ञा

चितवन । जेठ १३, कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेदेखि लागु गरेको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार निषेधाज्ञाको समय थप गरिएको बताइएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कन तथा हिँडडुल नगर्न, अत्यावश्यक काममा हिँड्नु पर्ने भएमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेशमा उल्लेख गरिएको छ । सभा, सम्मेलन, गोष्ठी तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा, पार्टीप्यालेस, हेल्थक्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेस, सेन्टर, जिमखाना, स्पा, स्विमिङपुल, ब्युटीपार्लर, सैलुन, टेलरिङ, फुटपाथ पसल जस्ता बन्द रहने लामिछानेद्वारा जारी आदेशमा उल्लेख गरीएको छ ।
त्यसैगरी होटल तथा रेष्टुरेन्टबाट टेक अवे बाहेकका अन्य सेवा सञ्चालन नगर्न, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायतका सबै शैक्षिक संस्थाहरुमा भौतिकरूपमा उपस्थित भई हुने पठनपाठन तथा परीक्षालगायतका शैक्षिक गतिविधि नगर्न, विवाह, व्रतबन्धलगायतका संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा सञ्चालन नगर्न, घरमा सञ्चालन हुने यस्ता कार्यमा १० जनाभन्दा बढी सहभागी नहुनसमेत आदेशमा अनुरोध गरिएको छ । मृत्यु संस्कारमा १५ जनाभन्दा बढी सहभागी नहुन, लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन नगर्न, मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिक स्थलमा नित्य पूजाबाहेक जमघट नगर्न आदेश जारी गरिएको छ ।
औषधि, पेट्रोलपम्प, दूध डेरी, दूरसञ्चार, इन्टरनेट, विद्युत्, फोहोरमैला व्यवस्थापन, खानेपानी आपूर्तिसम्बन्धी सेवा, अत्यावश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाई आइतबार, मङ्गलबार र बिहीबार मात्र तोकिएको मापदण्डको पालना गराई बैंक सञ्चालन गर्न पाइने तर अन्य वित्तीय संस्था तथा सहकारी सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।