कोरोना महामारीमा रोपाइँको याम शुरु (फोटो फिचर)

काठमाडौं । जेठ १३, कोरोना महामारीको त्राससागै किसानलाई खेतीपातीको चटारो छ ।
महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोटलगायत बागलुङका कतिपय भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । महामारीबाट जोगिएर खेतीपाती लगाउनुभन्दा अरु कुनै विकल्प किसानसँग छैन ।
गलकोट नगरपालिकाले रोपाइँमा भौतिक दूरी कायम गर्न, कम मानिस मात्र भएर खेतीपाती गर्न, खाजाको प्रबन्ध घरबाटै गर्न तथा खेतमा आउने र घर फर्कने समयमा अनिवार्यरूपमा मास्क लगाउन भनेको छ ।
सार्वजनिक सूचना नै जारी गरेर त्यस्तो आग्रह गरिएको र त्यसको अनुगमन पनि हुने नगरपालिकाले बताएको छ । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । सिञ्चित र दुई बाली फल्ने खेतमा मध्य जेठबाटै रोपाइँ हुने गरेको छ ।
मजुवालगायत फाँट खोला आसपास भएको र बाह्रैमास सिँचाइ पुग्ने हुँदा रोपाइँलाई समस्या नपर्ने नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदी बताउछन् । त्यहीँमाथि मनसुनले समेत साथ दिएमा रोपाइँ बेलैमा सकिन्छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् ।
छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका क्षेत्र पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ ।