पाल्पामा थप ४ जना संक्रमितको मृत्यु

पाल्पा । जेठ १४, तानसेन नगरपालिका र रम्भा गाउँपालिका एकरएक र रैनादेवी छहरा गाउँपालिकाका दुई जना गरी पाल्पामा थप ४ जना संक्रमितको मृत्यु भएको छ ।
तानसेन नगरपालिका–२ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । रक्तचाप, मधुमेह, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि तानसेन नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।
त्यसैगरी रैनादेवी छहरा गाउँपालिका–२, सोमादीका ४९ वर्षीय पुरुषको पनि उपचारका क्रममा निधन भएको छ । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमादीकै ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा निधन भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचार गरी थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको र उपचारका क्रममा निधन भएको वडाध्यक्ष जीवनाथ पोखरेलले बताए । रम्भा गाउँपालिका–३, पिपलडाँडाका ५३ वर्षीय पुरुषको उपचारका लागि रम्भा गाउँपालिकाको हुँगीमा सञ्चालित कोभिड अस्पतालमा लैजाँदै गर्दा निधन भएको बताईएको छ ।