कोरोना संक्रमणमुक्त भएकाहरुमा ‘ब्ल्याक फङ्गस’को संक्रमण

वीरगञ्ज । जेठ १४, वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोभिड संक्रमण मुक्त भइसकेका २५, ४५ र ५० वर्ष तीन जनाको केओएच परीक्षण गर्दा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण देखिएको छ।
फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) ठाकुरले जानकारी दिए । उनले भने, ‘दुई जनाको कन्फर्म भइसकेको छ, एक जनाको कल्चरको रिपोर्ट आउन बाँकी छ । ’
म्युकोर्माइकोसिस दुर्लभ, तर खतरनाक फंगल संक्रमण हो । यो पछिल्लो समय कोरोना संक्रमितमा देखा परिरहेको छ । यसले संक्रमित नाक, आँखा वा दिमागमा असर गर्न सक्छ । फोक्सोमा पनि फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।
नारायणी अस्पतालका डाक्टर निरज सिंह पनि वीरगञ्जमा ब्ल्याक फङ्गसका विरामी भेटिएको र दुई जनाको मृत्यु भइसकेको बताउँछन् । क्लिनिकल्ली भने पहिलो पटक प्रमाणित भएको छ । ब्ल्याक फङ्गसका विरामीलाई कालाजारमा प्रयोग गर्ने एन्टिफङ्गस औषधिहरु प्रयोग गरिन्छ ।
डा. सिंहका अनुसार पछिल्ला दिनमा भेटिएका ब्ल्याक फङ्गसका विरामीलाई चितवनका साथै भारतको पटना, लखनउ रिफर गरिएको छ । ‘समस्याबारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका हौं, औषधि व्यवसायीहरुसँग हारगुहार गरेका थियौं,’ डाक्टर सिंहले भने, ‘औषधिको व्यवस्था हुन सकेन, त्यसैले भारतका विभिन्न अस्पतालमा रिफर गरेका छौं।’ एजेन्सीहरुको साथमा ।