निकुञ्जका चार हिउँ चितुवामा जीपीएस जडान

डोल्पा । जेठ १६, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका चारवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
उक्त जडान गरिएका कलार जर्मनीको कम्पनीले निर्माण गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लूडब्लूएफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा २०७६/७७ मा दुईवटा र यही जेठ २ गतेदेखि सञ्चालित अनुसन्धानमा दुईवटा हिउँ चितुवामा जीपीएस कलार जडान गरेको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले बताए ।
त्यसैगरी स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँ चितुवाको विचरणबारे अध्ययन गरिएको उनले बताए । यसबाट उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहार लगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्यांक दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले बताएको छ । एजेन्सीहरुको साथमा ।