ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्ती हुन चाहनेहरुका लागि सुनौलो आवसर !

सहयात्रा टिभी

काठमाडौं । जेठ २०, बेलायत सरकारले ब्रिटिस गोर्खा र सिंगापुर पुलिसका भर्तीका निम्ति अनलाइनबाटै प्रारम्भिक चरणको नाम लेखाउने (रजिस्ट्रेसन) भएको छ ।

जसको जुन २८ देखि जुलाई १६ सम्म म्याद राखेको छ । १९ वर्षदेखि २१ वर्ष उमेर ननाघेकाले मात्र भिड्न पाउने रेक्रुट इन्टेक–२०२२ को मापदण्डमा रहेको छ ।

मंगलबार पोखरास्थित ब्रिटिस क्याम्पका अधिकारीले प्रतिस्पर्धी नेपाली युवालाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्। ‘कोरोना महामारीले गर्दा हाम्रो कतिपय क्राइटेरिया परिवर्तन भएर आएको छ,’ डेपुटी रेक्रुटिङ अफिसर मेजर ज्याकमेलले सम्बोधन गर्दै भने, ‘तपाईंहरूलाई असर पर्ला। तर पनि सक्दो निष्पक्ष रूपमा गर्ने भर्ती गराउने कोसिस गरेका छौं। यो पालिको रजिस्ट्रेसन अनलाइनमा हुनेछ र २८ जुनदेखि तीन हप्ताभित्र फर्म भरिसक्नु पर्नेछ।’

त्यसैगरी शैक्षिक योग्यता केही फरक गरेको जनाइएको छ। ब्रिटिस आर्मी (बीसी) र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स (जीसीएसपीएफ) दुवैतर्फ एउटै शैक्षिक योग्यता कायम गरेको छ। जसमा सन् २०१६ सम्म एसएलसी दिई थर्ड डिभिजन वा २०१६ पछि एसईई गरेकाले पाँच विषयमा ‘सी ग्रेड’ हासिल गरेको हुनु पर्नेछ। त्यसमा अंग्रेजी र गणित विषयमा ‘सी लेभल’ प्राप्त गरेको हुनुपर्छ।

कम्पार्टमेन्टबाट पास भएर कम्प्युटर इन्जिनियरिङ पढेकालाई स्विकार्य हुने तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) बाट प्राविधि शिक्षा लिएकालाई मान्यता नदिइने भनेको छ।

अनलाइन फाराम भर्नका निम्ति ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट युकेमार्फत् जानकारी दिइने जनाइएको छ। यदि बाबु–आमाको नागरिकता नभएमा विवाह सिफारिस वा निधन भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, सम्बन्ध विच्छेद भएमा त्यसको प्रमाण, लापत्ता भएमा सीडीओ कार्यालयको प्रमाणपत्र पेश गर्नुपर्ने छ। नागरिकताको ठेगानामा पालिका बनेपछि बदलिएको ठेगानाको सिफारिसपत्र, बसाइसराइ गरेको भए त्यसको प्रमाण संलग्न गर्नु पर्नेछ।

आउँदो वर्षका निम्ति कोटा घटाएर ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका निम्ति १ सय ४० जना छनोट हुनेछन्। ब्रिटिसतर्फ विगतको तुलनामा १ सय १० जनाको कोटा घटाइएको छ। यसपटक क्षेत्रीय र अन्तिम छनोटका निम्ति ब्रिटिसतर्फ ३ हजार र सिंगापुरका निम्ति २ हजार जनामात्र बोलाउने भनिएको छ। एजेन्सीको साथमा ।

 

प्रकाशित : 3 June, 2021

प्रतिक्रिया दिनुहोस्