कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु

धनगढी । जेठ २०, सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा. शेरबहादुर कमरले जनाए ।
त्यसैगरी उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीका अनुसार ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आयो । ‘उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थाल्यो । म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भयो’ उनले भने ।
कालो ढुसीको संक्रमण पुष्टि भएसँगै उनलाई एम्फोटेरिसेन बी नामको औषधि दिइएतापनि उनलाई बचाउन नसकेको डा. श्रीपाइलीले बताए ।