प्रेमपत्र पठाएको आरोपमा दलित युवकमाथि कुटपिट गर्ने तीनजना पक्राउ

काठमाडौँ । जेठ २२, रौतहटको दुर्गा भगवती गाउँपालिका–५ मा प्रेमपत्र पठाएकै आरोपमा एक युवकमाथि निर्घात कुटपिट गर्ने तीन जना पक्राउ परेका छन् ।
प्रेम पत्र पठाएको भन्दै स्थानीय विकास पासवानलाई डोरीले बाँधेर निर्घात रुपमा कुटपिट भएको थियो ।
शुक्रबार सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एक पुरुषले उनलाई डोरीले बाँधी लठ्ठीले खुट्टामा र शरीरमा पिटिरहेको र अरु भेला भएका मानिसले हेरिरहेको देखिन्छ ।
प्रहरीका अनुसार कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरू सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहका अनुसार घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ५० वर्षका राजदेव गिरी र अरु २ जना रहेका छन् ।
एसपी शाहले भने, ‘घटनाको बारेमा पीडित पक्षले उजुरी नगरे पनि घटनाको तस्वीर तथा भिडियो सार्वजनिक भएपछि हामीले प्रत्यक्षदर्शीसँग बुझी ३ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौं ।’
घटना बिहीबारको हो । तर अहिले सम्म के कारणले ती युवकमाथि कुटपिट भयो भन्ने विषय प्रहरीले सार्वजनिक गरेको छैन । तर युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरूले कुटपिट गरेको स्थानीयको भनाइ छ ।
यता दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए ।