भारी वर्षाका कारण पञ्चेश्वर गाउँपालिकाका एक दर्जन घरमा क्षति

बैतडी । जेठ २७, गए रातिदेखिको भारी वर्षाका कारण बिहीबार बिहान पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले एक दर्जन घरमा क्षति पुगेको छ ।

बस्खेत खोलामा आएको बाढीले अड्तोला र बैतागाउँमा रहेका एक दर्जन बढी घरमा क्षति पुर्याएको स्थानीयवासी भोजराज भट्टले बताए ।
बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । अविरल वर्षाका कारण सडकको माटोसहितको बाढी गाउँ पस्दा स्थानीयवासी गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी, रमेश लुहार, शिवराम लुहारलगायतका १० भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले प्रहरी टोली घटनास्थलतर्फ गएको र टोली घटनास्थल पुगेपछि मात्रै क्षति पूर्ण विवरण प्राप्त हुने बताए । एजेन्सीको साथमा ।