देशभर मनसुनको प्रभाव : गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडौँ । जेठ २९, यस वर्षको मनसुन नेपाल भित्रिएसँगै काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा मनसुन प्रवेश गरिसकेको र एक–दुई दिनभित्र मनसुन देशैभरी फैलिने महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउनु समेत अनुरोध गरिएको छ ।
नेपालमा शुक्रबार मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण नेपालमा मनसुन भित्रिएको हो ।