इजरायलमा नेतान्याहुको सत्ता अन्त्य, बनेट बने नयाँ प्रधानमन्त्री
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । जेठ ३१, १२ वर्षदेखि इजरायलको सरकारमा रहेका बेन्जामिन नेतान्याहुको सत्ता अन्त्य भएको छ ।
संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै नेतान्याहुको सत्ता अन्त्य भएको हो । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् ।
![](https://sahayatratv.com/wp-content/uploads/2021/06/Isrel-Netanyahu.jpg)
नेतान्याहुलाई एक मतको साँघुरो अन्तरले पराजित गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिएका हुन् । उनले ६०-५९ बहुमतका आधारमा ‘अभूतपूर्व’ गठबन्धनको नेतृत्व गरेको बीबीसीले उल्लेख गरेको छ ।
सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि येश अटिड पार्टीका नेता याएर लापिड थप दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।
नेतान्याहु इजरायलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन् । इजरायलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन् ।
संसद्मा भएको छलफलमा बोल्दै नेतान्याहुले आफूहरू फेरि फर्किने बताएका थिए । प्यालेस्टिनीहरूका प्रतिनिधिले भने इजरायलको नयाँ सरकारलाई खासै चासो नदिने किसिमको प्रतिक्रिया जनाएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई दिएका छन् । उनले आफू बेनेटसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।