मेलम्चीको बाढीमा बेपत्तामध्ये ४ जना सम्पर्कमा, थप एक शव फेला

सहयात्रा टिभी

काठमाडौँ । असार ३, सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा बेपत्ता भएका २० जनामध्ये चार जना सम्पर्कमा आएका छन् ।

आज बिहान एक जनाको शव पनि फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

मृतक सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक रहेको खुलेको छ । उनको परिचय भने खुली नसकेको खनालले बताए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अझै पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत २ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भएका छन् । यसअतिरिक्त अरु ८ जना स्थानीय सम्पर्कबिहीन भएको प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उनीहरुको खोजी जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

बुधबार दिनभरमा ७४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ । घाइते भएका ५ जना मध्ये ४ जनाको अस्पालमा उपचार भइरहेको छ ।

उनका अनुसार बाढी पहिरोका कारण हालसम्म चार पक्की पुल र पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै नदी आसपासमा रहेका सात वटा माछा फार्म बगेका छन् ।

बाढीबाट मेलम्ची नगरपालिकाका ६०० जना र हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीयवासी प्रभावित भएको प्रशासनको आकलन छ ।

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्