तामाकोशी नदीमा बाढीको जोखिम कायमै, सतर्क रहन प्रशासनको आग्रह

सहयात्रा टिभी

काठमाडौँ । असार ५, तामाकोशी नदीमा बाढीको जोखिम कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ ।

चीनको तिब्बतमा थुनिएको तामाकोशी नदी अझै सामान्य अवस्थामा नरहेकाले तटीय क्षेत्रमा खतरा नटरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

तिब्बतको रोङसिया शहर तथा सो क्षेत्रमा भारी वर्षा भइरहेको र पहिरो जाँदा तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएपछि प्रशासनले विज्ञप्तिमार्फत शुक्रबार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीका अनुसार शुक्रबार राति र आज शनिबार बिहानसम्म नदीको अवस्था सामान्य बन्न सकेको छैन । कुनै पनि बेला ठूलो बाढीको खतरा रहेकाले आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन उहाँले आग्रह गर्नु भएको छ ।

‘भारी वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोले नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको सतह बढेर बाढी आउन सक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्णमा सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुना साथ सुरिक्षत स्थानतर्फ जान अनुरोध गरिन्छ,’ जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित : 19 June, 2021

प्रतिक्रिया दिनुहोस्