उपत्यकामा आजदेखि निजी सवारी जोरबिजोर प्रणालीमा संचालन, बार तोकी पसल खोल्न पाईने

सहयात्रा टिभी

काठमाडौं । असार ८, उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुने गरी उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले सो आदेश जारी गरेको हो ।

त्यस्तै साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीबाहेक) सपिङ मल, खेलकूद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहारका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

यस्तै सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोबाइल पार्ट्स पसल, इलेक्ट्रोनिक्स पसललाई पनि आइतबार, मङ्गलबार र बिहीबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

निर्माणजन्य सामग्रीको पसल (हाडवेयर्स, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राति मात्र गर्न भनिएको छ ।

औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ । खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीमात्र), स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

सवारी मर्मतका पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ । विवाह, व्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइने छ ।

भीडभाड हुने सबै गतिविधि, फुटपाथ र खुला ठाउँमा हुने व्यापार, होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतबन्ध, नित्यकर्मबाहेकका धार्मिक कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

प्रशासनले जारी गरेको आदेशमा शैक्षिक संस्था अनलाइनमार्फत सञ्चालन गर्न सकिने छ । वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ । उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माणकार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।

पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्यरूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्ने छ भने अत्यावश्यक सामग्री बोक्ने सवारी साधन परिचयपत्रका आधारमा सञ्चालन गर्न सकिने प्रजिअ पराजुलीले बताए ।

तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, कुखुरा दाना, चल्ला पशुपक्षीजन्य पदार्थ, खाद्यान्न भेटेरेनरी, इन्धन, ग्यास, सरसफाइमा प्रयोग गर्ने सामान, प्रिन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन ब्यानर राखेर राति ८ देखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ । सार्वजनक तथा निजी निर्माणकार्यका लागि राति ९ देखि बिहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ ।

बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख गरीएको छ ।

भन्सार विन्दुबाट उल्लेख भएका मालबाहक सवारी साधान सम्बन्धित भन्सार प्रमुखले रुट खुलाई अनुमति प्रदान गरेमा त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारी उल्लेख गरेको दिन र स्थानसम्म आवातजावत गर्न पाउनेछन् । विदेश जाने यात्रुले अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने जनाइएको छ ।

त्यस्तै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना हुने गरी आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह गर्न भनि जनाईएको छ ।

 

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्