हुम्लाका हिउँचितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामालाई ‘रोलेक्स अवार्ड’

सहयात्रा टिभी

काठमाडौं । असार ८, संसारमै दुर्लभ मानिने हिउँचितुवालगायतका अन्य वन्यजन्तुमा काम गर्ने हुम्लाका एक अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले २ लाख स्विस फ्रयांक (नेपाली २ करोड ५५ लाख) राशिको विश्व चर्चित ‘रोलेक्स कन्जर्भेसन अवार्ड’ पाउने भएका छन् । उक्त पुरस्कार पाउने उनी पहिलो नेपाली हुन् ।

रिन्जिन फुन्जोक लामाले वातावरण विज्ञानमा स्नातक गरेका छन् भने त्रिविबाट बीएस्सी र जर्मनी र न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका छन् ।

द थर्ड पोल कन्जर्भेन्सीमा संरक्षण कार्यक्रम निर्देशक रहेका उनी माउन्टेन स्पिरिट नामक स्थानीय संस्थामा सक्रिय रहेका छन् ।

हिमाली क्षेत्रका वन्यजन्तु र जैविक विविधताको अनुसन्धानमा ७ वर्षदेखि सक्रिय लामाले सन् २०१५ मा ‘वाइल्डलाइफ कन्जर्भेसन नेटवर्क स्कलरसिप’ र गत वर्ष सन् २०२० मा डब्लूडब्लूएफ नेपालबाट संरक्षण पुरस्कार पाएका थिए । उनले युवाहरूलाई साथ लिएर वन्यजन्तु संरक्षणका साथै हुम्लाका स्थानीयको जीवनस्तर उकास्ने अभियान सञ्चालन गरिरहेका छन् ।

‘रोलेक्स अवार्ड फर इन्टरप्राइजेज’ सन् १९८१ मा हिउँचितुवाको घाँटीमा विश्वमै पहिलो पटक रेडियो कलर जोडेर अनुसन्धान गर्ने रोड्नी ज्याक्सनले पाएका थिए । उनले शे–फोक्सुन्डो निकुञ्जको मुगुतिरको भागमा हिउँचितुवाबारे अध्ययन गरेका थिए । लामाले उनैबाट प्रभावित भएर हिउँचितुवालगायत हिमाली वन्यजन्तुको संरक्षणमा होमिएको बताएका छन् ।

 

प्रकाशित : 22 June, 2021

प्रतिक्रिया दिनुहोस्