राजमार्गमा हराउँदै गएको ट्राफिक चिन्ह

सहयात्रा टिभी

काठमाडौं । असार १०, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका विभिन्न राजमार्गमा राखिएका ट्राफिक चिन्ह वर्षेनी हराउँन थालेका छन्।

राजमार्गमा रहेका ट्राफिक चिन्ह हराउँदै तथा चोरी हुँदै गरेका विषयमा यहाँका सञ्चारकर्मीले बरम्बार समाचार सम्प्रेषण गर्दा पनि सम्बन्धित निकायले त्यसको रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन।

हराएका तथा चोरी भएका ठाउँमा नयाँ ट्राफिक चिन्हसमेत राख्न नसकेका कारण समस्या हुँदै गएको छ।

त्यस्तै त्याहाँका सात पहाडी जिल्लाका राजमार्गमा राखिएका ट्राफिक संकेत अर्थात् चिन्ह वर्षेनी नहुँदा चालकलाई गाडी चलाउन समस्या हुँदै आएको गुनासो बढेको छ।

सडक डिभिजन कार्यालय गोदावरीले यहाँका पहाडी जिल्लाका राजमार्गमा ट्राफिक संकेत राख्दै आए पनि वर्षेनी हराउने तथा चोरिने भएका कारण समस्या हुँदै आएको बताएको छ।

कतिपय ठाउँमा राखिएका ट्राफिक संकेत हराउने तथा अनधिकृत व्यक्तिले उखेलेर लैजाने गरेका कारण बाटोको अवस्थाबारे चालकलाई जानकारी नहुँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ।

त्यसैगरी कैलालीको अत्तरीयादेखि डडेल्धुराको स्याउले जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा बैतडी जोड्ने महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, स्याउले दिपायल जोड्ने डाक्टर केआइसिंह राजमार्ग, बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तथा दिपायल–साँफेबगर जोड्ने पहलमान सिंह स्वाँर राजमार्गमा राखिएका कतिपय ट्राफिक चिन्ह जीर्ण बन्दै गएका भए पनि मर्मत तथा सुधारका लागि पहल हुन नसकेका कारण झनै समस्या भएको चालक बताउँछन्।

यहाँका पहाडी राजमार्ग निकै साघुँरा भएका तथा त्यसैमा पनि कतिपय ठाउँमा ट्राफिक सङ्केत नभएका कारण चालकलाई सवारीसाधन सञ्चालन गर्नमा कठिनाइ हुनाका साथै दुर्घटना बढ्ने गरेको सुदूरपश्चिम बस व्यवसायि समितिका बस चालक दुर्गा ओझाले बताए।

यहाँका पहाडी जिल्लाका राजमार्गमा वर्षेनी ट्राफिक सङ्केत हराउँदा तथा चोरी हुँदा त्यसको नियन्त्रण तथा मर्मतका लागि सम्बन्धित निकायबाट खासै पहल हुन नसकेको स्थानीयबासीको आरोप छ।

ट्राफिक चिन्हले अगाडि आउने बाटोको अवस्था तथा राति गाडी चलाउँदा गाडीको उज्यालोबारे जानकारी दिने भएका कारण गाडी सञ्चालनमा सहजता हुने भए पनि ती चिन्ह नै नहुँदा समस्या हुने गरेको शैलेस्वरी यातायात व्यवसायी प्रालि दिपायलका बस चालक कृष्णबहादुर साउदले बताए।

–रासस

 

 

 

 

प्रकाशित : 24 June, 2021

प्रतिक्रिया दिनुहोस्