अझ खुकुलो पार्दै उपत्यकाको निषेधाज्ञा थपिने, सार्वजनिक यातायात सञ्चालनको तयारी

काठमाडौँ । असार १३, काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरि थपिने भएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

‘आज कोभिडको तथ्यांक कस्तो आउँछ, त्यसलाई विश्लेषण गर्दै अपराह्न ४ बजेपछि निषेधाज्ञाबारे थप निर्णय गर्नेछौँ,’ प्रजिअ पराजुलीले भने।
उपत्यकामा पछिल्लोपटक जारी गरिएको निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ ।
जारी निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोरबिजोर प्रणाली लागू गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेको छ ।
सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । संक्रमण अझै घटेको अवस्थामा सार्वजनिक यातायात पनि जोरबिजोरको आधारमा चल्ने दिने प्रजिअ पराजुलीले बताउनुभयो ।
काठमाडौँ उपत्यकामा वैशाख १६ गते निषेधाज्ञा शुरू हुँदा दैनिक ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा यो संख्या अहिले ५ सय हाराहारीमा झरेको छ ।
संक्रमण घट्दै जाँदा सरकारले हवाई उडान पनि खुलाउने निर्णय गरिसकेको छ । वैशाख १७ गतेदेखि शर्तसहित आन्तरिक हवाई उडान सञ्चालनका लागि अनुमति दिइएको छ । जहाजको कुल सिट संख्याको ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न पाउने शर्त राखिएको छ । यस्तै सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पनि विभिन्न गन्तव्यका रुट थप गरेको छ ।